JANAMATPOST.COM :: NEWS FOR ALL

“मार्क्सवादको ह्याङ्गओभर र पूजिवाद तर्फको आकर्षण”

सुजन राई

सुजन राई 

“मार्क्सवादको ह्याङ्गओभर र पूजिवाद तर्फको आकर्षण” नेपालि राजनीतिमा मुख्यधारका भनिने दलहरु सैद्दान्तिक रुपमा मूख्यत: दुइ प्रकारका छन्।

१) कम्यूनिष्ट-एमाले, एमाओवादी आदि २) डेमोक्रेटिक/प्रजातान्त्रिक-नेपालि काङ्ग्रेस आदि । सैद्दान्तिक रुपमा यिनिहरु विपरीत ध्रूवका दलहरु हुन् । कम्यूनिष्ट विचारधाराले हरेक वस्तु,स्रोत र साधन राज्यको अधिनमा हुनपर्छ भन्ने मान्यता राख्दै निजिकरणको बिरोध गर्छ भने प्रजातान्त्रिक विचारधाराले वस्तु,स्रोत र साधनमा राज्यको अनियन्त्रण हुनपर्दछ, बजारको शासन र निजिकरण भएमात्र स्रोत र साधनको उचित उपयोग हुने र तिव्र विकास हुने तर्क गर्दछ। राज्य नियन्त्रित हुदाँ वस्तु ,स्रोत र साधनको परिचालन सुस्त हुने,राज्यले उचित उपयोग गर्न नसक्दा सोचेजति प्रतिफल प्राप्त गर्न नसक्ने दावि प्रजातान्त्रिक विचारधाराको छ,आजसम्मको विकास र आविस्कार खुल्ला बजार,बजार प्रतिस्पर्धा र निजि क्षेत्रबाटै भएको दाबि प्रजातान्त्रिकहरुको छ।

कम्युनिष्टहरूले चाहि ति विकासको प्रतिफल धनि वर्गले मात्र लिने र लिइरहने भन्दै विकासको प्रतिफल सबैले समान रुपमा पाउनूपर्ने र त्यो स्रोत र साधनमा राज्यको अधिन हुदाँमात्र सम्भव भएको तर्क गर्छन्। निजिकरणले धनि र गरिब बिचको दुरी बढ्ने, धनि धन कमाइरहने गरिब कहिल्यै सम्पन्न नहुने, स्रोत र साधनमा धनि वर्गको मात्र पँहूच हुने, बजारमा आएका बस्तुहरु गरीबले सजिलै उपभोग गर्न नसक्ने, धनाड्य वर्गले आफ्नैे ऐसा आरामको लागि बजार निर्माण गर्ने भन्दै कम्युनिष्टहरू निजिकरण र पूजिवादको बिरोध गर्छन्। श्रमको अतिरिक्त मूल्य सिद्दान्त प्रतिपादन गरेरै धनि वर्गले कसरी गरीब वर्गको श्रम शोषण गर्छन् भनेर प्रष्ट पारेका छन्। यि त भए आदर्शवादी सैद्दान्तिक कुराहरु, अब व्यवहारिक पक्षलाइ थोरै खोतलौ। व्यवहारिकताको हिसाबले म यहाँ सर्वहारा वर्गको मुक्ती चाहने र निजिकरण र व्यक्तिगत सम्पत्तिमा विरोध गर्ने कम्यूनिष्ट बारे थोरै लेख्न जादैछु।

नेपालमा कम्युनिष्ट पार्टिका ठूला र चिनिएका नेताहरुले जति नै मिठो भाषण गरेपनि व्यवहारमा उनीहरू पटक्कै तेस्तो छैनन्। अझ भनौ शान्ति प्रक्रियापछि नेपालका कम्युनिष्टहरू सुविधाभोगि र विलासी बन्दै गइरहेका छन्।बाहिर मार्क्सवाद र लेनिनवाद फलाक्ने तर रातारात धन्दा चलाउने प्रवृत्ति पूरानो भइसकेको छ। नेपालमा ठूला र महङ्गा अस्पताल,निजि विद्यालय,कलाकारखाना जो सेवामूखी भन्दा नाफामूखी बढी छ,तिनीहरु तिनै कम्यूनिष्ट पार्टीका नेता,कार्यकर्ता,आसेपासे,आफन्त र सुभेच्छुकको रहेको छ।

सहरमा ठूला घर,विलासी गाडी, विदेशको महङ्गो र विलासी विद्यालयमा छोराछोरीको पढाइ, ब्रान्डेड र बिलासी फोन,ग्याजेड, जूत्ता,लत्ताकपडा साथै विलासी सामानहरुमा रुचि र आखाँ यिनै सर्वहारा वर्गको नेतृत्व गर्छु भन्ने कम्युनिष्टहरुको छ। सामान्य रोगको उपचार विदेशमा ऐसा आराम गर्दै गर्नपर्ने यिनै कम्यूनिष्टलाइ चाहिएको छ । बाहिर चाही सबैको लागि समान अवसर भन्ने भित्रभित्रै आफू कुम्ल्याउने जनता बिर्सने प्रवृत्तिले नेपालका कम्युनिष्टहरू उच्च अवसरवादि पूजिपति भन्दा खराब भैरहेको प्रष्टै हुन्छ। टन्न सम्पत्ति कुम्ल्याएर छोराछोरी,भाइ भतिजाको नाममा गर्दैमा कोही कम्युनिष्ट कसरी हुनसक्छ?

नेपालि राजनीतिको इतिहासमा कम्युनिष्ट पार्टिहरुको कार्य सम्पादन उदेकलाग्दो र हाँस्यास्पद छ । डा. गोविन्द के.सी.ले स्वास्थ क्षेत्रलाइ पूजिवादीहरुको नियन्त्रण बाहिर ल्याउन प्रयास गर्दा त्यो कार्यको विरोध गर्ने तिनै कम्यूनिष्टहरु थिए जो समाजवादको सपना देखाइरहन्थे। के.सी.को मागमा प्रजातान्त्रिक पार्टी काङ्ग्रेस धेरै लचिलो बनेको थियो जसले कम्युनिष्टलाइ समाजवाद सम्झाइदिएकै हो। यो त एउटा उदाहरण मात्र हो, सत्ता र कुर्सिमा पुगेपछि आसेपासे,साथिभाइ,छरछिमेक र नेता कार्यकर्ताको व्यक्तिगत र निजि कम्पन्नी र संस्थाहरूलाइ कम्युनिष्ट घोषणापत्र त परको कुरा सामान्य नियम विपरित स्विकृत दिने र नाफाको हिस्सेदारी बन्नेमा तिनै कम्युनिष्टहरु पनि छन्।

विचार र सिध्दान्तले जनता उचाल्ने तर व्यवहार चाहि अवसरवादी पुजिपतिको देखाउने कम्युनिष्टहरूको रुप देख्दा पूरानो उखान याद आउछ “मुखमा रामराम बगलिमा छुरा”। यसरी सैध्दान्तिक र व्यवहारिक पक्षबाट केलाउँदा नेपालका कम्युनिष्ट पार्टीहरु र नेताहरु त्यो विन्दुमा छन् जुन विन्दुमा उनीहरुलाइ चिचिको पनि लोभ छ पापाको पनि लोभ छ । यो विन्दुमा उनीहरुलाइ न त मार्क्सवादको ह्याङ्गओभरले छाडेको छ न त पूजिवादको आकर्षणले।

त्यसैले अब नयाँ पुस्ताले वैकल्पिक मार्गबाट विवेक सहितको राजनीति गर्न जरूरी छ,जुन सुन्दा जे सुनियो देख्दा त्यस्तै होस्, सिध्दान्त व्यवहारमा छर्लङ्ग उत्रियोस् , यो नै विकल्पको विकल्प हो।

(लेखक : पाटन क्याम्पसमा स्नातकोतर तहमा अध्यनरत छन् ।)

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *