JANAMATPOST.COM :: NEWS FOR ALL

भुसाललाई जेलबाट छुटाउन सङ्कलित रकम हस्तान्तरण, सरकारले तत्काल प्रक्रिया अघि बढाउने

परासी  । साउदी अरबको जेलमा रहेका नवलपरासीका थानेश्वर भुसाललाई छुटाउन सङ्कलन गरिएको रकम सरकारलाई हस्तान्तरण गरिएको छ ।

भुसालको उद्धारका लागि अभियानको नेतृत्व गरेको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले आज परराष्ट्र मन्त्रालयलाई रकम हस्तान्तरण गरेको हो । 

साउदी अरब, युएई, कतार, दक्षिण कोरिया, बहराइन, कुवेत र नेपालबाट सङ्कलन गरिएको ४० लाख ९८ हजार रुपैयाँको चेक आज कार्यक्रम गरी परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई हस्तान्तरण गरिएको हो ।

राष्ट्र बैंकले आजका लागि तोेकेको भाउ अनुसार डेढ लाख रियालको ४० लाख ९८ हजार रुपैयाँ हुने भएकाले त्यति नै रकम हस्तान्तरण गरिएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।

चेक बुझ्दै सचिव वैरागीले सम्बन्धित नियोगसँग समन्वय गरेर भुसालको उद्धारका लागि तत्काल पहल थाल्ने बताउनुभयो । साउदीको जेलमा ४ वर्षदेखि रहेका थानेश्वरको उद्धारका (पिएनसिसी)को अगुवाईमा अभियान सञ्चालन गरेर रकम संकलन गरिएको हो ।

तोकेको जेल अवधि सकिएपनि जरिवाना रकम बुझाउन नसक्दा उहाँ अझै छुट्न सक्नुभएको छैन । थानेश्वरलाई सवारी साधन चलाउने लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो । २०६८ असोज ६ गते साउदी गएका थानेश्वर २०६९ साल जेठ २६ गते दुर्घटनामा पर्नुभएको थियो ।

उहाँले चलाएको टिपरमा अर्को गाडीले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने गाडीमा रहेका र ठक्करबाट धकेलिएको टिपरले अगाडि ठक्कर दिदाँ अर्को गाडीमा रहेका गरी दुई जनाको ज्यान गएको थियो ।

दुर्घटनामा थानेश्वर घाइते हुनुभएको थियो । दुर्घटनापछि झण्डै १० महिना जेल परेका उहाँ जेलबाट छुटेपछि घर आउन खोज्दा कम्पनीका साहुले घर आउन नदिई फेरि काममा लगाएको थियो । दोस्रो पटक घर फर्कने बेलामा पनि साउदीको प्रहरीले उहाँलाई त्यही मुद्दामा पक्राउ गरेको हो ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *